बजेट अभावमा पदमार्ग अलपत्र

काठमाडौँ - बागलुङमा निर्माणाधीन भीमसेन ढुङ्गा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ। 

पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन। चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु. दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो।

मजदूरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए। निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताए। “तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ”, उनले भने, “बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो।”

गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुङ्गादेखि घुम्टे जोड्ने झण्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण सुरु गरिएको थियो। पहिलो खण्डले भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गालाई समेट्छ। राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ। सुरुको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा रु. १०-१० लाख बराबरको काम भएको थियो। दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो।

सुरुको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×