काठमाडौँ - आगामी नयाँ वर्ष २०७९ को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोष चालिसेले संविधान, नियम, कानुनको परिधिभित्र रही कसैको चरित्र हत्या नहुने गरी समसामयिक विषयमा लेखिएका कवितालाई प्रतियोगितामा समावेश गरिने जानकारी दिए। कविता २०० शब्दमा नबढाइ लेख्नुपर्ने नगरपालिकाले जनाएको छ। कविता यसअघि कतै प्रकाशित एवं वाचन नगरिएको हुनुपर्ने छ।
यही चैत १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा आइपुग्ने गरी कविता पठाउन यसअघि सूचना जारी गरिएको छ। इमेलबाट समेत कविता पठाउन सकिने छ । प्राप्त रचनालाई विज्ञ समूहले मूल्याङ्कन गरी प्रतियोगितामा वाचनका लागि छनोट गर्ने व्यवस्था मिलाइएको छ।
प्रतियोगिता चैत १८ गते नगरपालिकाको वडा नं. ९ स्थित आरुबारी चोकमा गरिने छ। उक्त प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तेस्रोलाई रु २० हजार र सान्त्वनास्वरुप तीन जनालाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।