काठमाडौं - भक्तपुरको एउटा कलेजले एउटा निर्माण कम्पनीसँंग सहकार्य थालेको छ । व्यवहारिक ज्ञानमार्फत् विद्यार्थीको सिकाईलाई मजबुत बनाउने उद्देश्यले यस्तो गरेको जनाइएको छ ।
भक्तपुरको कमलविनायकमा रहेको बागेश्वरी कलेजले नेपाल इको प्यानल नामक एउटा निर्माण कम्पनीसँंग त्यसका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा नेपाल इको प्यानलकोतर्फबाट जनरल म्यानेजर विक्रम गोसाई र कलेजकोतर्फबाट प्राचार्य धनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा कलेजका विद्यार्थीलाई नेपाल इको पयनल अन्तर्गतका विभिन्न महाशाखा, शाखा, एकाईमा इन्टर्न गर्न लगाउने, विद्यार्थीलाई कम्पनीबाट सम्पादन गर्दै आएका विभिन्न विषयमा शोध, अध्ययन, अनुसन्धान गर्न लगाउने र उत्पादन गर्दै आएका विभिन्न सामाजिक कार्यमा सहभागी गराउने विषयहरु उल्लेख गरिएका छन् ।
समझदारीपत्रमा दुवै कम्पनी, कलेज र विद्यार्थी गरी तीन पक्षका जिम्मेबारीहरु तोकिएका छन् । त्यस अनुसार कलेजले प्रयोगात्मक अभ्यास इन्टर्न गर्ने, शोध अनुसन्धान गर्ने तथा सामाजिक कार्यमा सहभागी हुने विद्यार्थीको छनौट गरी सिफारिस गर्ने, विद्यार्थीको कार्यमा समन्वय अनुगमन गर्ने र विद्यार्थीले तयार गरेको प्रतिवेदन, शोध, अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ । साथै विद्यार्थीको जिम्मेबारीमा कलेजले सिफारिस गरे अनुसार कार्य गर्ने, आफूले गरेको कार्यको अवधि तथा अन्तिम प्रतिवेदन तयार पार्ने र आफनो जिम्मेबारी इमान्दारितापूर्वक निर्वाह गरी कलेज तथा संस्थाको मानप्रतिष्ठा बढाउन प्रयसा गर्ने रहेको छ । साथसाथै कम्पनीले इन्टर्न गर्न सिफारिस गरिएका विद्यार्थीलाई कम्पनीका महाशाखा, शाखा, एकाईको कार्यक्षेत्र, कार्य पद्धति तथा आवश्यक विषयमा जानकारी गराउने, शोध अध्ययन अनुसन्धानमा सिफारिस भएका विद्यार्थीलाई आवश्यक तथ्यांक, तथ्यांकको श्रोत वा श्रोतव्यक्ति उपलव्ध गराउने, विद्यार्थीलाई कम्पनीको नेतृत्वमा हुने सामाजिक कार्यमा अग्रीम सहभागी गराउने, विद्यार्थीलाई अनुसन्धानमूलक कार्य गर्न लगाउने, कम्पनी अन्तर्गतका महाशाखा, शाखा, इकाइहरुमा प्रशाशनिक व्यवस्थापकीय कार्यहरु गर्न लगाउने उल्लेख छ ।
कम्पनीका जनरल म्यानेजर विक्रम गोसाईले सामाजिक कार्य अन्तर्गत भोलिका देशका कर्णधारका रुपमा रहेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन आफूहरुले ठाउँं दिएको प्रतिक्रिया दिए । समाजप्रति उदरदायी भएर कम्पनीले अन्य विविध कार्यहरु पनि गर्दै आएको उनले जानकारी गराए । कलेजमा विज्ञान, मानविकी, व्यवस्थापनसहित शबओभरसियरलगायतका विषयमा पढाईहरु हुने गरेको छ । यसले विद्यार्थीले व्यवहारिक ज्ञान पाउने विश्वास कलेजको छ ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसको कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ भने कर्पाेरेट कार्यालय भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको छ ।