दार्चुलामा पहिरोमा पुरिँदा २ जनाको मृत्यु, ११ बेपत्ता

दार्चुला - दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। स्थानीय पत्रकार श्याम धामीका अनुसार जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।

स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए।  शुक्रबार राति एक बजे तिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। 

यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्।  पहिरोले सल्लाका आठ घर पुरिएका छन्, भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँचिएर घाइते अवस्थामा उद्धार गरिएको छ।  नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ।  करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाउनुको साथै हालसम्म ११ जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले जनाए।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×