काठमाडौँ - अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरूप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ। ४ मिनेट ३५ सेकेण्ड लामो गीतको भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहारस्वरूप दिएका हुन्।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहारस्वरूप पाएको गीत एकदमै राम्रो लागेको बताए। उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र मन पराउने आशासमेत गरेका छन्।
'आएसआर डिजिटल'बाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरू देखाइएको छ। गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने गीतमा सुनिता थेगिमले स्वर भरेका छन्।
अभिनेता बस्नेत एयर होस्टेज करिष्मा केसीसँग गत मङ्सिर १२ गते विवाह बन्धनमा बाँधिएका हुन्।