मनोज विश्वकर्मा [कविता]

१. खसिरहेको केही जस्तै
 

कहिल्यै फुल्न नपाएको फूल
कहिल्यै उड्न नपाएको पंक्षी
कसैले त देख्यो होला मानिसभित्र ! 

 खसिरहेको सूर्यको किरण
अल्झियो~पर्खिरहेको शीतको छातीमा
कतै त पोखियो होला उज्यालोको गीत !

नदी जस्तो विश्वास बोकेर
शासकले लुकाएको इतिहास जस्तो अनुहार लिएर
त्यसपछि नै त हिँड्यो होला यात्राले !

अन्तिम नहुने यो अन्तिम यात्रा
सधैँ सधैँ खसिरहने त्यो गीतको उज्यालो
उदास उदास ती शोषित कामना

खसिरहेको गीत; कतै/कुनै धरतीमा
हिँडिरहेको यात्रा; कतै/कुनै अनुहारमा
उदास लय; कतै/कुनै जीवनमा

अनिश्चित हुनेछौँ खसिरहँदा...

खसिरहेको केही जस्तै
हुनेछ-पर्खिरहेको केही पनि !
र उभिनेछ-यात्रा
फैलिनेछ-उज्यालो धून !

अनिश्चित हुनेछौँ खसिरहँदा
तर
समय भन्दा अग्रिम आउनेछ-अर्को समय !

२. नदी

तिमी सङ्गसङ्गै रहेर...
म रूखहरू उभिएँ/म बिजहरू उम्रिएँ
म फूलहरू फुलेँ/म बतासहरू फैलिएँ

बगेको छु म 
र 
बाँचेका छौ तिमी ।

थोपा भएर तिमीसम्म
रहेको तिम्रो प्रत्येक थोपा अस्तित्व मै हुँ !

लहर भएर तिमीसम्म
बगिरहेको तिम्रो अविछिन्न प्रवाह मै हुँ !

नदी भएर तिमीसम्म
बाँचिरहेको जीवनको पहिलो प्यास
हिँडिरहेको सभ्यताको एकएक पदचाप

हुँ एकमात्र साक्षी
धरतीमा पहिलो पटक गाइएको गीतको
लेखिएको प्रथम प्याराग्राफको !

तिमी सङ्गसङ्गै रहेर...
चुच्चो चोपलेर चिरबिराइरहेका चरा भएँ
'सेता जिराफ'को अन्तिम सास अंकित शालिग्राम भएँ

तिमी सङ्गसङ्गै रहेर
बगेँ/जमेँ/पग्लिएँ

तिमी सङ्गसङ्गै रहेर
दुबो भएँ/स्मृति भएँ/स्मारक भएँ

तिमी सङ्गसङ्गै रहेर....
यी जल्दै गरेका नदी/यी फैलिदै गएका बगर
यो तातिदै गएको धरती/ती डुब्दै गएका माल्दिभ्स
तिमीद्वारा लेखिएको सब्से उदास कथा भएँ...

हाम्रो प्रेम-कथामा
यति बीभत्स ट्राजेडी लेख्ने तिमी नै हैनौ?
 

कवि मनोज विश्वकर्मा

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×