काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन निवेदन दिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदन दिएकी हुन् । उच्च अदालत पाटनले गौशाला–२६ को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो ।
मुद्दाको पूर्णपाठ तयार भएर मंगलबार मात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहना राखेर निवेदन दिएको उल्लेख गरेकी छन् । उनले हस्त लिखित निवेदन उच्च सरकारी वकिल कार्यालय पेस गरेकी छन् । गौशाला २६ ले आफै आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरेका छन् । उनले निवेदनबारे थप बोल्न चाहेनन् ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।
पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो ।
पत्रमा के छ ?
पीडितको पत्रमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको दाबी गरेकी छिन् । उनले आफूले न्यायका लागि धेरै संर्घष गरेको तर यो क्रममा धेरै तनाव र दुःख झेलेकाले अब विवाद भन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको दाबी गरेकी छन् । उनले आफू अव आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नगरी दिन उनले अनुरोध गरेकी छन् ।
उनले लामिछानेसँगको भेटदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफूले असह्य पीडा भोगेको र समाजबाट पनि धेरै कुरा सिकेको भन्दै अव दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले निवेदन दिएको र साथै आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।