काठमाडौँ - फिल्म प्रदर्शनको इतिहास बोकेको जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि नयाँ स्वरुपमा संचालनमा आउने भएको छ। सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गरेका थिए।
भूकम्पपछि जीर्ण बनेको पुरानो हललाई भत्काइएको थियो। पुरानो हलकै आडमा बनेको नयाँ मल्टिप्लेक्सको माथिल्लो तलामा हल खुलेको हो।
विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन्। थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ। शुभारम्भ समारोहमा बोल्दै संचालक मोहन सर्राफले दर्शकको सुविधालाई ध्यानमा राखेर हल संचालनमा ल्याउन लागेकाे बताए।
सो अवसरमा ‘लक्का जवान’ फिल्म प्रदर्शन गरिएको थियो। शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएका छन्।