काठमाडौँ - ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनको निजी निवासमा आउने र जाने व्यक्ति बारे कुनै जानकारी उपलब्ध नभएको जनाएको छ।
रिपब्लिकन पार्टीका सदस्यहरूले अमेरिकी राज्य डेलावेयरस्थित जो बाइडेनको घरबाट गोप्य कागजातहरू भेटिएपछि निजी निवासमा आगन्तुकहरुको विवरण माग गरिरहेका थिए।
सोमबार, ह्वाइट हाउस काउन्सिलको कार्यालयले राष्ट्रपतिको निजी घरमा आगन्तुकहरूको निगरानी गर्नु शिष्ट चलन नभएको बताएको छ।
बाइडेनको घर र वासिङ्टनमा निजी कार्यालयबाट कम्तिमा २० गोप्य दस्तावेज भेटिएको थियो।
यी कागजातहरू ओबामा प्रशासनको समयमा उनी उपराष्ट्रपति हुँदाको बेलाको हो। सीबीएस न्युजका अनुसार यसमा केही ‘टप सिक्रेट’ दस्तावेज छन्।
ह्वाइट हाउसले पछिल्लो सप्ताहन्तमा पाँचवटा नयाँ गोप्य कागजातहरू प्राप्त गरेको बताएको छ। कानुनअनुसार राष्ट्रपतिको कार्यकाल सकिएपछि सबै कागजपत्र राष्ट्रिय अभिलेखालयमा बुझाइन्छ।
ह्वाइट हाउसले यी फाइलहरू ‘अञ्जानवश गलत स्थानमा’ राखिएको र यस मामिलामा पूरा सहयोग प्रदान गरिएको जानकारी दिएको छ।
रिपब्लिकन नेता र हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कमरले यस सम्बन्धमा ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लेनलाई पत्र लेखेका छन्।
उनले भने, ‘राष्ट्रपति बाइडेनले गोप्य कागजातलाई गलत तरिकाले राखेको विषयमा उनले राष्ट्रिय सुरक्षालाई खतरामा त पारेका छैनन् भनेर प्रश्न उठेका छन्।’
जबसम्म बाइडेनको घरमा आउनेहरुको नामको सूची जारी नभएसम्म अमेरिकीलाई यी संवेदनशील दस्तावेज क–कसको हातमा लाग्यो थाहा नहुने पनि बताएका छन्।
तर सोमबार जारी गरेको विज्ञप्तिमा ह्वाइट हाउस काउन्सिलको कार्यालयले घरमा आउने पाहुनाको नामबारे त्यस्तो कुनै सूची उपलब्ध नभएको बताएको छ।