इटहरी - इटहरीमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ। इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रुपमा सन्चालनमा ल्याएको कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा ताला लगाएको हो।
इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रुपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा ताला लगाएर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए। नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रुपमा अनुगमन गरिरहेको छ।
इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो। ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाइएको छ।
कम्पनीहरुले इजाजत एउटाको लिने काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक उपमेयर संगिता चौधरीले बताइन्।