पनौंती - खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकैं भिडभाड भएको थियो । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा १ सय ३ जनाले बाथ तथा नशा रोग सम्बन्धी स्वास्थ्य जाँच गराए । काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो । उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरका अध्यक्ष गुरु अधिकारीले उपस्थित सबै जनालाई स्वागत गर्दैं सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिए ।
ग्रामिण भेगमा आएर यसरी वृद्धवृद्धा, दिनदुखी तथा अशक्त वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको लायन्स क्लब जे डिष्ट्रिकका गर्भनर हरि मरहठ्ठाले बताउनुभयो । आगामी दिनहरुमा पनि यो भेगमा यस्तो खालको कार्यक्रमहरु गरिने आयोजक लायन्स क्लबका जोन चियरपर्सन तथा काठमाण्डौं युनाइटेड सेन्टरका पुर्व अध्यक्ष रोशन कुमार श्रेष्ठले बताए ।
उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे परामर्श दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।
सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यसरी बिगत ३ वर्षदेखी निरन्तर निःशुल्क स्वास्थ्य शिविरमा टाढा – टाढाको ग्रामिण भेगका धेरै सेवाग्राहीहरुले सुविधा लिएकोले खुशी हुदैं सबैं आयोजकहरुलाई सम्मान गर्दै, उक्त शिविरमा धेरै वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकैं सफल भएको बताए ।