एउटा चराको सुसाइड नोट
हजारौँ किलोमिटिर टाढाबाट
तिम्रो यो दारुण दशा हेर्न आएको थिइनँ
हिँउ मात्रैले पुरिएको मैदानबाट
यात्रा गर्नकै लागि मात्र
यात्रामा निस्किएको थिइनँ
म त तिम्रो हरियो अङ्कमालमा हराएर
तिमीसङ्गै विचरणको
उत्कट अभिलाषा बोकेर आएको थिएँ
सोचेको थिएँ,
मेरो आगमनलाई पर्खेर
तिमी दुलही बनेर बसेकी छ्यौ
मलाई स्वागत गर्न तिमीसङ्गै
सयौँ हजारौँ -
पुतलीहरू नाचिरहेछन्
बन फूलहरू फुलिरहेछन्
चिडियाहरू गाइरहेछन्
सोचेको थिएँ,
तिमीलाई भेट्न आउँदैछु भन्ने थाहा पाएपछि
ऋतुहरूले तिमीलाई सिँगारिरहेका होलान्
आकाशले ईन्द्रेणीको घुम्टो हालिदिएको होला
छेउँछाउँ बग्ने नदीहरूले तिम्रा पैतालामा
मिठो काउकुती लगाइरहेका होलान्
तर सोचेकै थिइनँ
म आइपुग्दा तिमी यो हालतमा हुनेछ्यौ!
कहाँ हरायो तिम्रो जलराशिको मुस्कान?
कहाँ गए तिम्रा आँचलमा लुकामारी खेल्ने मृगहरू?
खोइ तिम्रा लहराहरूमा डुलिहिड्ने पुतलीहरू
खोइ तिम्रा शृङ्गारका सहेली
गोही, घडियाल, अजिङ्गरहरू
खोइ तिम्रा चञ्चल चिडियाहरू?
किन सुनिदैनन् किराकाँटीका धुनहरू
किन मुस्कुराएका छैनन् कमलफूलहरू
किन यति नाङ्गा र उदास छन् यी रूखका हाँगाहरू
हजारौँ किलोमिटिर टाढाबाट
तिम्रो यो दारुण दशा हेर्न आएको थिइनँ
उफ्फ!!!
कसले भरिरहेछ यसरी आफ्नै मृगौलामाथि पत्थर
किन थुनिरहेछ आफ्नै श्वासनलीको बाटो?
त्यति कठिन यात्राबाट आएको थिएँ
कसरी फर्कूँ तिमीलाई यस हालतमा छोडी
म त समाहित हुनेछु तिम्रो धाँजा फाटेका छातीमा
तर मेरो यो अन्त्य र तिम्रो अवस्थाले
बाँकी समयको शुभ संकेत भने पक्कै गरेको छैन
प्रिय सिमसार!
म तिम्रो साइबेरियन चरो।
शरद पोख्रेल