काठमाडौँ - समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ।
१५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११ गते सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिएका छन्।
सन्ध्याका पूर्वअध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, वसन्त विनोद र त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिले गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गजल सन्ध्याले जनाएको छ।
स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ गजल सङ्ग्रह प्रकाशित छ। अनाममण्डलीका पूर्वमहासचिवसमेत रहेका गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन्। शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनका गीत र कविता पनि चर्चित छन्।
नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान भनेर अर्पण गरिँदै आएको छ।