१. "धेरै बोल्नु हुन्न
शान्त रहनु पर्छ"
-आमाको कथन।
"नरम बोल्नु
ढुङ्गा चपाउनु
तर भरसख अरुको मन / चित्त नदुखाउनु"
-बा'ले सम्झाउनु हुन्थ्यो।
"पल्लाघरे महाजनसँग बोल्दा
शिर निहुराएर बोल्नु
स्वर ठुलो नगर्नु
उनी रिसाउन सक्छन्।
उनी रिसाउनु भनेको
तिम्रा बा'को पसिनाको मोल खस्किनु हो।
उनी रिसाउनु भनेको
दमकी रोगी
तिम्री आमालाई चाहिने अक्सिजनको मात्रा घट्नु हो।
उनी रिसाउनु भनेको तिम्रो पेटमा चट्याङ्ग पर्नु
आँखामा असार लाग्नु हो। "
-छिमेकीहरुको उपदेश।
अलिअली कुरा बुझ्ने हुँदादेखी
बोली फूट्न नपाउँदैबाट
बोल्नै पर्ने भन्दापनि
अरुले सुन्न चाहेका
अरुको मन खुसी पार्ने कुराहरु बोल्न प्रयासरत रहँदा
मैले बोल्नै बिर्सिएछु।
धन्न अरुका कुरा सुन्न
मेरा कलममा कान थिएनन् / छैनन्।
कहिले काहीँ "नहुनु" नै
वरदान हुँदोरहेछ।
२. झर्नबाट नडराउनु
उकाली-ओराली बाटोको परिचय हो
यात्राको मजा लिनु।
यात्रा गर्न गन्तब्य तोकिएकै हुनुपर्छ- त्यसो नसम्झनु।
हिँड्दै जाँदा मनलागेको ठाउँमा सुस्केरा हाली
आजको गन्तब्य यही हो भनेर थकाई मार्न नहिच्काउनु।
धेरै पर पुग्छु भनेर हिँडेकाहरु न काहीँ पुगे
न केही गरेकै छन्।
बरु सा-साना कुराहरुको अवलोकन गर्नु।
झार-पातसँग साउती मार्नु
चरा, किरा-फट्याङ्ग्रालाई आफ्ना मनपर्ने गीत सुनाउनु
उनिहरुसँगै आफूँ पनि नाच्नु।
रूख-बिरुवालाई अँगाल्न लाज नमान्नु।
सकेसम्म
श्वास फेर्न हतार नगर्नु
हतार गरेर हामीलाई काँही पुग्नु छैन
हामी काहीँ पुग्ने वाला पनि छैनौँ।
सबै भन्दा प्रमुख कुरा
झर्नबाट नडराउनु
गन्तब्यको खोजीमा आँफूलाई नहराउनु
काहीँ पुग्नुपर्छ-जरुरी छैन
बस
स्थिरता त्याग्नु
हिँड्दै गए एकठाउँ कसो नपुगिएला?
उमेश आचार्य