काठमाडौँ - आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सहज जित निकालेको छ। सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो।
न्युजिल्यान्डले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १ सय २ रनमा समेटिएको थियो। श्रीलंकाका लागि कप्तान दासुन सनकाले सर्वाधिक ३५ रन बनाएका थिए। भानुका राजपाक्षेले ३४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन। श्रीलंकालाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए। यस्तै मिचेल सान्टनर र इस सोधीले २/२ तथा लोकी फर्गुसनले एक विकेट हात पारेका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनको योगफल खडा गरेको थियो। न्युजिल्यान्डका ग्लेन फिलिप्सले शतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले ६४ बलमा ४ छक्का र १० चौकाको सहयोगमा १ सय ४ रन बनाएका थिए। यस्तै दर्याल मिचेलले २२ र मिचेल सान्टनरले अविजित ११ रन बनाएका थिए। श्रीलंकाका कसुन राजिथाले २ विकेट लिएका थिए। यस्तै महेश थिक्साना, धनञ्जय डी सिल्भा, वाहिन्दु हसरंगा र लाहिरू कुमाराले १/१ विकेट हात पारेका थिए।
विश्वकपमा न्युजिल्यान्डको यो दोस्रो जित हो। यसअघि न्युजिल्यान्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो। जितसँगै समूह ‘एक’मा रहेको न्युजिल्यान्डले ३ खेलमा ५ अंक जोडेको छ। न्युजिल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। ३ खेलमा ३ अंक जोडेका इङ्ल्यान्ड दोस्रो, आयरल्यान्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेका छन्। ३ खेलमा २ अंक जोडेको श्रीलंका समूहको अन्तिम स्थानमा रहेका छ।