काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक ‘सर्किट’ बनाउन लागिएको बताएका छन्।
म्याग्दीको बेनी नगरपालिका–१ मा आजदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र विन्धवासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको बताएका छन्। “धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको हो”, उनले भने, “धार्मिकस्थललाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका छौँ।”
शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान सुरु गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले निर्माणाधीन कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बिनी तथा भारतका हिन्दू धर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजनाअघि सारिएको बताए। मुख्यमन्त्री पोखरेलले गण्डकीका पर्यटकीय र धार्मिकस्थललाई पनि एकअर्कासँग जोडेर विकास गर्न थालिएको बताएका छन्।
हिमाल र मधेसको समृद्धिमा एकअर्काको सम्बन्ध रहेको बताउँदै कालीगण्डकी सभ्यता गण्डकीको समृद्धिको आधार भएको उनले बताए।