काठमाडौँ - च्याङ्ग्राको मूल्य किलोकै १४ सय ५० रुपैयाँ पुगेको छ। गत वर्ष दसैंमा प्रतिकिलो १३ सय रुपैयाँसम्म पुगेको च्याङ्ग्रा मूल्य यसपालि प्रतिकिलो १४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।
‘सोचेजस्तो पर्याप्त आयात भएन, त्यसमा पनि व्यापारीहरूले चलखेल गरे। केहीले लुकाएर मूल्य बढाए,’ चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाले भनेका छन्, ‘गत वर्ष प्रतिकिलो १३ सय रुपैयाँसम्म बिक्री भएको च्याङ्ग्रा अहिले किलाकै १४ सय ५० रुपैयाँ पुगेको छ।’ यसपालि व्यवसायीहरूले करिब ३ हजार च्याङ्ग्रा भित्र्याएका छन्। उक्त च्याङ्ग्रा मुस्ताङबाट आयात गरिएको जनाएको छ। व्यवसायीहरूले गत वर्ष पनि मुस्ताङ/तिब्बतबाट आयात गरेका थिए।
गत वर्ष घटस्थापनाताका च्याङ्ग्राको मूल्य प्रतिकिलो ११ सय ५० रुपैयाँ थियो। फूलपाती, महाअष्टमी, महानवमी बिहानसम्म प्रतिकिलो १३ सय रुपैयाँसम्म कारोबार भएको थियो। त्यसपश्चात् भने मूल्य घटेर पुन: १ हजार ५० रुपैयाँमा झरेको थियो। यसपालि घटस्थापना वरिपरि प्रतिकिलो १३ सय रुपैयाँ थियो। अहिले मूल्य बढेंर १४ सय ४० रुपैयाँ पुगेको हो।
‘होल्डिङ सेन्टर राखेर एकद्वार प्रणालीमार्फत बिक्री गर्दा राम्रो हुन्थ्यो,’ थापाले भने, ‘अहिले बिचौलियाको बिगबिगी छ, मूल्य पनि मनपरी नै छ।’ त्यस्तै, खसीको मूल्यमा भने उच्च नभएको संघको दाबी छ। व्यवसायीहरूले प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको संघको दाबी छ। १ हप्ताको दसैं बजारमा स्वदेशी उत्पादन ६० र भारतको ४० प्रतिशत आयात हुन्छ।
व्यापारीहरू सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछाप, इलाम, नुवाकोटलगायत आफ्नो ठाउँ उपत्यका ल्याएका छन्। अपुग खसीबोका भारतको लखनउ, उत्तरप्रदेशबाट पनि आयात हुन्छ। यसपालिको दसैंमा करिब २५ हजारदेखि ३० हजार खसीबोका बिक्री हुने अनुमान छ। गत वर्ष दसैंका लागि करिब ४० हजार वटा बिक्री भएको थियो।
त्यस्तै, सरकारले पनि सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ। सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकिएको छ। खाद्यले गत दसैंमा प्रतिकिलो ६ सय ४० रुपैयाँ राखेको थियो। गत बर्षको तुलनामा ढुवानी भाडा बढेकाले मूल्य पनि बढी देखिएको खाद्यको दाबी छ। त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्राको छुटसहित उपभोक्ता मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ तोकेको छ।
खाद्यका अनुसार खसीबोका खरिद गर्नका लागि जिल्ला प्राथमिक खरिद समिती हुन्छ। समितीमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसान सहित सदस्य रहन्छन्। समितीले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ। प्रशासनिक खर्च, ढुवानी खर्च जोडेर खाद्यले मुल्य निर्धारण गर्ने गरेको दाबी छ। बजारमूल्य हस्तक्षेप गर्ने उद्देश्यले कम्पनीले यसपालि २३ सय खसीबोका/च्याङ्ग्रा खरिद गर्ने लक्ष्य राखेको छ। तर, उक्त लक्ष्य पुग्न कठिन देखिएको छ।
कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापा आइतबारसम्म १४ सय ५९ खसीबोका मात्रै उपत्यका भित्रिएका छन्। जसमध्ये १ सय ९४ वटा बिक्री हुन बाँकी नै छ। त्यस्तै, २ सय ११ वटा च्याङ्ग्रामध्ये ५६ वटा बिक्री भएको छैन। ‘खसीबोका सोमबार, मंगलबारसम्म मात्रै खरिद हुन्छ। आजसम्मको अवस्था हेरेर थप खरिद गर्ने/नगर्ने निर्णयमा पुग्छौं,’ उनले भने, ‘सम्भवत अब थप खरिद गर्दैनौं।’