उदयपुर - त्रियुगा नगरपालिका-२ की ४० वर्षीया महिला वडा सदस्य छत्रकुमारी राउतको शव भेटिएको छ। उदयपुरको बेलका नगरपालिका-८ माछापुच्छ्रे सामुदायिक वन क्षेत्रमा आइतबार शव भेटिएको हो। उनी त्रियुगा नगरपालिका-२ सोनवा स्थित घरबाट भदौ ८ गते औषधि उपचार गर्न विराटनगर गएमा भोलिपल्टदेखि बेपत्ता भएकी थिइन।
सडेको अवस्था वडा सदस्य राउतको कंकाल भेटिएको प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताएका छन्। ‘वडा सदस्य राउतले वन क्षेत्रमा आत्महत्या गरेको प्रारम्भिक अध्ययनमा देखिन्छ,’ प्रहरी उपरीक्षक फुयालले भने,‘झुन्डिएर आत्महत्या गरेको र शव सडेर भुइँमा झरेपछि कंकालमात्रै बाँकी रहेको अवस्थामा भेटिएको हो।’ घटनास्थलमा उनले प्रयोग गरेको झोला, चप्पल र सल पनि भेटिएको छ।
वन क्षेत्रमा घाँस दाउरा गर्न गएका स्थानीयले कंकाल देखेर प्रहरीलाई खबर गरेका थिए। वडा सदस्य राउतका श्रीमान् देवकुमार राउतले उनले लगाएको चप्पल, झोला र सलबाट पहिचान गरिदिएको प्रहरीले जनाएको छ।
वडा सदस्य राउतको कंकाल पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।