निर्णायक चौथो दल बन्ने आकांक्षाका साथ राप्रपाले निकाल्यो प्रत्यक्षमा यी ‘टप एलेभन’ उम्मेदवार

काठमाडौँ - यस पटक थ्रेसहोल्ड कटाएर निर्णायक राष्ट्रिय पार्टी बन्ने तयारीसहित आक्रामक चुनावी अभियानमा रहेको राप्रपाले प्रत्यक्षमा ११ सीट जित्ने महत्वाकांक्षी प्रक्षेपण गरेको छ। राप्रपाले समानुपातिकबाट पनि ८ देखि १० सीट जित्ने दाबी गरेको छ।

२०७० सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्षमा एक सीट पनि नजित्दा समानुपातिकबाट २४ सीट पाएको थियो। २०७४ सालमा प्रत्यक्षमा राजेन्द्र लिङदेन जित्दा समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको पार्टी यस पटक कमल थापा बाहिरिएको बेला २० सीटको लक्ष्य लिएर अघि बढेको छ।

राप्रपाले प्रत्यक्षमा पाउने मतमा स्वतन्त्र पार्टीले समेत धावा बोलेकाले अपेक्षा गरेभन्दा कम हुने चिन्ता नेताहरूले व्यक्त गरेका छन्। यद्यपि ८ लाखभन्दा तल नहुने दाबी उनीहरूको छ।

देशभरिको रिपोर्टका आधारमा राप्रपाले प्रत्यक्षमा ११ देखि १५ सीटसम्म लिड गरिरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठको दाबी छ।

समानुपातिकमा एमाले, कांग्रेस र माओवादीपछिको चौथो शक्ति बन्ने आँकलन राप्रपाको छ। प्रत्यक्ष र समानुपातिकसहित समग्रमा चौथो दल बन्ने तयारी रहेको श्रेष्ठले बताए।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रेससँगको अन्तर्वार्तामा राप्रपा पाँचौँ दल बन्ने सम्भावना आँकलन गरेका थिए। ओलीले एमाले पहिलो,कांग्रेस दोस्रो,माओवादी तेस्रो,जसपा चौथो र राप्रपा पाँचौँ बन्न सक्ने बताएका थिए। राप्रपाले भने जसपालाई जित्न सकिने आँकलन गरेको छ।

यी हुन् राप्रपाका टप एलेभन उम्मेदवार
राप्रपा एमालेभन्दा पछि सबैभन्दा बढी उम्मेदवार उठाउने दल हो। उसले देशभर १४० क्षेत्रमा उम्मेदवार उठाएको छ। झापाका ४, रुपन्देहीका ४, बाँकेका २, कञ्चनपुरका ३ निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई सघाएको छ। त्यसबापत राप्रपाले झापा ३, बाँके २ र रुपन्देही ३ मा प्रतिनिधिसभा तर्फ एमालेको साथ पाएको छ भने झापा, रुपन्देही, धादिङ २, कञ्चनपुरलगायत केही ठाउँमा प्रदेश सभामा एमालेले सघाएको छ।

राप्रपाले जित सुनिश्चित ठहर गरेका उम्मेदवारमध्ये अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो नम्बरमा छन्। राप्रपा उसै पनि बलियो रहेको सो क्षेत्रमा एमालेको मत थपिएकाले चुनाव जित्न कुनै समस्या नरहेको र विगतको भन्दा फराकिलो मतान्तरले जित्ने स्थिति बनेको उनले बताए।

त्यस्तै मोरङ ३ मा रेखा थापा राप्रपाले जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ। रेखाको इन्ट्रीले मोरङ ३ मा त्रिपक्षीय प्रतिस्पर्धा भने भएको छ। एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्माबीच दुईपक्षीय मानिएको प्रतिस्पर्धामा पछिल्लो समय रेखा थापाको अभियानसँगै त्रिपक्षीय बनेको छ।

मकवानपुर १ का दीपकबहादुर सिंह राप्रपाले जित्ने उम्मेदवारको सूचीमा राखेको छ। व्यक्तिगत रूपमा लोकप्रिय नेता सिंह गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर उम्मेदवार बनेर एमाले बराबर मत पाएका थिए। झिनो मतले मेयरमा पराजित सिंहले कांग्रेसकी डिला संग्रौला र एमालेबाट उठेका आफ्नै पूर्व नेता कमल थापालाई कडा चुनौती दिएका छन्।

राप्रपाले चुनाव जित्ने सूचीमा राखेका अर्का उम्मेदवार हुन् रवीन्द्र मिश्र। ५ वर्षअघि विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेर काठमाडौं १ मा प्रकाशमान सिंहसँग करिब ७ सय मतले पराजित भएका मिश्रले यस पटक जित्नका लागि निकै मेहनत गरिरहेका छन्।

राप्रपाले पनि उनको जितलाई प्रतिष्ठाको विषय बनाएको छ। मिश्रले यस पटक चुनाव जित्ने आँकलन राप्रपाको छ। उनको लागि मत माग्न बलिउड अभिनेत्री मनीषा कोइराला समेत घरदैलोमा गएकी छन्।

काठमाडौं २ बाट राप्रपाले कुन्ती पोखरेललाई चुनाव जित्न सक्ने सशक्त उम्मेदवारको सूचीमा राखेको छ। युवा नेता कुन्तीले चुनाव प्रचारलाई आक्रामक र आकर्षक बनाएकी छन्। उनको प्रतिस्पर्धा एमालेका मणिराम फुयाँल, गठबन्धनकी ओनसरी घर्ती र स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग छ। राप्रपाले सो क्षेत्रमा पर्ने संखरापुर नगरपालिका जितेको र पहिले देखि नै राप्रपाको प्रभाव क्षेत्र रहेकाले कुन्ती बलियो उम्मेदवार हुन्। स्थानीय तहको निर्वाचनको मत अनुसार पनि राप्रपाको सबैभन्दा बढी मत करिब ८ हजार आएको क्षेत्र हो २ नम्बर। कुन्ती आफ्नै प्रभाव,युवा महिला भएका कारण तटस्थ मत समेत तान्ने अपेक्षा छ।

त्यसो त राप्रपाले काठमाडौं ८ का प्रकाश रिमाललाई पनि चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ। राप्रपा प्रवक्ता श्रेष्ठले काठमाडौंमा ३ सीट जित्न सकिने आँकलन रहेको बताए। प्रदेशतर्फ १० नम्बर क्षेत्रका उमेशराज सापकोटा बलियो प्रतिस्पर्धामा छन्। उनले जित्न सक्ने राप्रपाको आँकलन छ।

राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा छन्। एमालेको उम्मेदवार नरहेको र कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई सबै एमालेको मत नजाने भएकाले विक्रम पाण्डेलाई फाइदा हुने आँकलन छ। चितवन ३ मा कांग्रेस उम्मेदवार नभएको फाइदा पनि आफूले उठाउने पाण्डेको योजना छ। पाण्डे चुनाव जित्ने सम्भावित राप्रपा उम्मेदवार मानिएका छन्।

एमालेको साथ पाएका दीपक बोहोरा यस पटक रुपन्देही ३ बाट नतिजा उल्ट्याउने तयारीमा छन्। उनी गृहमन्त्री बालकृष्ण खाँणसँगको प्रतिस्पर्धाबाट उत्रिने दाबी राप्रपाको छ।

त्यस्तै महामन्त्री धवल शमशेर जबरालाई पनि एमालेले साथ दिएकाले बाँके २ बाट जित्ने उम्मेदवारको सूचीमा छन्। उनीबाहेक राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही पनि चुनाव जित्ने सूचीमा राखेको छ। शाहीले एकाएक माहौल बनाएका कारण सत्ता गठबन्धनमा खैलाबैला छ।

त्यस्तै नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा ध्रवबहादुर प्रधानले यसपटक जित निकाल्ने आँकलन राप्रपाको छ। पटकपटक असफल भएका प्रधान यसपटक पनि कांग्रेसका देवेन्द्रराज कँडेलसँग प्रतिस्पर्धामा छन्। स्थानीय तहमा समेत राम्रो मत आएकाले यसपटक प्रधान उम्किन सक्ने अनुमान राप्रपाको छ।

यसैगरी बर्दिया क्षेत्र नम्बर २मा विनय रावलले यसपटक जित निकाल्ने आँकलन राप्रपाले गरेको छ। उनको समाजसेवालाई बर्दियाले सँधै सम्मान गरेको छ भने यस पटक उनले मुख्यत: बर्दियालाई लागुऔषधमुक्त जिल्ला बनाउने प्रतिवद्धता समेत जनाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×