काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल देशका पहाडि भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज (मंगलबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।