बाँके - बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९र८० का लागि बजेट प्रस्तुत गरेको हो।
प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताइन्। उनका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ। भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ। नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगरसभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ।