३२ सडक मानवको उद्धार

सुनसरी - सुनसरीलाई सडक मानवमुक्त बनाउने उद्देश्यले धरानको विभिन्न स्थानबाट ३२ सडक मानवको उद्धार गरिएको छ। गएराति धरान उप-महानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाको नेतृत्वमा सुरु गरिएको उद्धारमा धरानका विभिन्न  सडकबाट ५ महिलासहित ३२ जना सडक मानवको उद्धार भएको हो।

सडकमा अव्यवस्थित तथा जोखिमपूर्ण तरिकाले बस्दै आएका युवती तथा महिलालाई उद्धार गरी माया घर नेपाल इटहरी पठाइएको छ। यसैगरी अरू उद्धार गरिएका सडक मानवमा बालबालिकालाई बालबालिका खोज तथा उद्धार केन्द्र बेलबारी र अरूलाई भिओसी इटहरी र विराटेश्वर मानवआश्रम विराटनगर पठाइएको उपप्रमुख बेघाले बताएका छन्।

जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानव असुरक्षित त छदैछन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो उद्धार अभियान अन्तर्गत उद्धार गरिएको उपप्रमुख बेघाले जानकारी दिए।

धरानको सडकमा बस्दै आएका सडक मानवमा विषेशगरी किशोरी तथा महिला पनि रहेकोले निकै जोखिमपूर्ण जीवनयापन गरिरहेको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक बुद्ध श्रेष्ठले बताए।

धरानलाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत धरानको सडक मानवलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुनःस्थापना गर्ने गरी अभियान थालिएको हो। अभियानमा उपप्रमुख बेघासहित नगर प्रहरी, इलाका प्रहरी, वडा प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×