काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ। कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गरेका हुन्।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए। उनले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको बताए। उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताए।