काठमाडौँ - राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ६८ औं अवरिल जनसाहित्य यात्रामा आज स्रष्टा किसान प्रेमीका एकल गजल र कविता प्रस्तुत गरिएका छन् ।
बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका किसान प्रेमीले समसामयिक यथार्थ जीवनका विविध पक्षलाई मार्मिकरुपमा प्रस्तुत गरिएका रचना गीतिमय ढङ्गले वाचन गरे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकमा लोकतान्त्रिक परिवर्तनका लागि स्रष्टाहरुको महत्वपूर्ण भूमिका भएकाले परिवर्तनलाई संस्थागतरुपमा सवल बनाउन पनि स्रष्टा सक्रिय हुनुपर्ने बताए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले ओझेलमा परेका र प्रतिभावान स्रष्टालाई मञ्च प्रदान गर्दै साहित्य र विचारको सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष राम विनयले कोभिड १९ को अवधिमा भर्चुअलरुपमा समेत गरिएको जनसाहित्य यात्रा अब भौतिकरुपमै नयाँ प्रतिभालाई जोडेर प्रभावकारी बनाइने बताए । वाचित रचनामाथि समीक्षक रुपक अलङ्कारले समीक्षा प्रस्तुत गर्दै किसान प्रेमीका गजल प्रगतिशील पक्षसहितका आनन्द र विचार प्रदान गर्ने खालका भएको टिपणी गरे ।