दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ। यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो।
करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो।
यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत लगायतको ध्यानाकर्षण गराइएको थियो। सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए। उनले भने, “लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ।”
मिर्गौला पीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको थियो। गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ। गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ।
उनले भने, “यहाँका मिर्गौला बिरामीहरु भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस गर्नुपर्ने बाध्यता छ। तैपनि भनेको बेला समय नपाउँदा उहाँहरुलाई निकै दुःख भइरहेको छ।”