मोरङ - मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ। झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ। कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन्।
मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ। उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए। उनीहरूको अवस्था सामान्य छ।
थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरूमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ। घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ। पुराना रिसिइबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।