कर्णाली - ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ।
फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’ आयोजना गर्दै आएको छ। यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको कार्यक्रम कोभिड–१९ को कारण केही समयपछि सारिएको हो।
‘कर्णाली उत्सव, कुडा कर्नालीका’ का संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए। उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत कार्यक्रम रहेको छ। विभिन्न माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका (कर्णालीका हिरोअर्थात् खस भाषामा पैकेलो) सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत गरिनेछ। उत्सवको प्रारम्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘खस भाषाको लहरो’ शीर्षकमा विद्वत प्रवचन दिनेछन्।
आयोजकका अनुसार ‘सङ्घीयताको सङ्घर्ष’ विषयक सत्रमा विभिन्न वक्ताले बहस गर्नेछन्। सङ्घीयताका कारण प्रदेश तथा स्थानीय तहले पाएका अधिकार र कार्यान्वयनका जटिलताका साथै अधिकार प्राप्तिका लागि भएको सङ्घर्षबारे बहस हुनेछ। कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाको विषयमा ‘कर्नाली भेरी सुसेल्दोछ’ सत्रमा बहस हुनेछ। कर्णालीका लोकलयमा गीत–सङ्गीत लेखन तथा निर्माणमा संलग्न गायक तथा सङ्गीतकार यस सत्रमा उपस्थिति रहनेछ। कर्णाली उत्सवको अर्को विषय हो, ‘बजार विकास, हजार निकास’। कर्णालीमा बजारलाई कसरी स्वतन्त्र बनाउन सकिन्छ? भन्ने विषयमा यय सत्रमा बहस हुनेछ। बजारको विकासबाट आउने हजार निकासको विषयमा सत्र केन्द्रित हुने बताइएको छ।
निजी क्षेत्र तथा कर्णालीमा निजी क्षेत्रको लगानीका विषयमा ‘लगानीमा लगाम’विषयमा बहस हुनेछ। कर्णाली प्रदेशबाट राष्ट्रियस्तरसम्म पुगेर राजनीति गर्न कति सजिलो छ? शक्ति केन्द्रसम्म पुग्दाको सङ्घर्ष कस्तो छ? राजनीतिक संस्कार र कर्णालीको समग्र विकासका लागि योगदान के हुनसक्छ भन्ने विषयमा बहस हुनेछ ‘राजनीतिको खलङ्गा’ शीर्षकको सत्रमा।
कर्णालीमा विद्युतीकरण र ग्रामीण विद्युतीकरणका विषयमा ‘झरो उजेलोको खरो’ सत्रमा बहस हुनेछ। कर्णालीमा विद्युत् पुर्याउनका लागि आवश्यक कार्यसम्पादनका विषयमा यो सत्र केन्द्रित हुनेछ। परम्परागत आरनदेखि वैज्ञानिक आविस्कार तथा अन्वेषणसम्बन्धी बहस, मिडियामा आउने सूचना र नागरिकमा पर्ने भ्रमसम्बन्धी बहस ‘रैबार र रैला’ शीर्षकमा हुनेछ। नेपालका विभिन्न राजनीतिक दलहरुले अङ्गीकार गर्ने राजनीतिक सिद्धान्त (वाद) को सान्दर्भिकता के छ ? सिद्धान्तलाई व्यवहारमा कसरी ढाल्न सकिन्छ? समृद्धिको सिद्धान्त के हो ? भन्ने विषयमा ‘वाद, विवाद र संवाद’ सत्रमा हुनेछ। ‘कर्णाली भेरी तिरैतिर : भविष्यको पीर’ सत्रमा कर्णाली र जलवायु परिवर्तनको तथा विपद्सम्बन्धी बहस हुनेछ। उत्सवको अन्तिममा कर्णाली चिन्तन (दिगो विकास र कर्णाली) सत्र छ, जहाँ दिगो विकास र कर्णाली विषयमा लिखित मन्तव्यसहितको प्रवचन दिने कार्यक्रम रहेको छ।