सर्लाही - बिषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ। हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो। महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो।
लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्याएको आफन्तले जनाएका छन्। त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो। उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ।
मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए। जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशकाे विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ।
जिल्लाको नवरपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन्।