सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ - प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल गर्न पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार सत्तारुढ गठबन्धनको बैठक बुधबार ५ बजे बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुने बताइएको छ।

५ दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल हुने र त्यसलाई अन्तिम रुप दिने तयारी भएको बताइएको छ। प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रुप पाउने कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले मंगलबारको बैठकका क्रममा जानकारी दिएका थिए।

उनका अनुसार मंगलबारको बैठकमा प्रतिनिधिसभातर्फको केही सिटमा कुरा मिल्न बाँकी रहेको र प्रदेश सभाका पनि अधिकांश सिट बाँडफाँटमा समझदारी बनेको छ। प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटका लागि बालुवाटारमा केही दिनयता निरन्तर ५ दलीय र २ पक्षीय बैठकहरू भइरहेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ-आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने भएकाले दलहरूको बैठक बस्न लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×