काठमाडौँ - नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेश सभाको बैठक सुरु भएको छ। एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव दर्ता गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन्। आज प्रदेशको नामाकरणको विषयमा टुङ्गो लाग्ने बताइएको छ।
प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ। प्रदेश सभाले नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो। दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।