काभ्रेपलाञ्चोक - यहाँको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो। सामग्री हस्तान्तरण गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालबाट हुने सेवालाई थप सुधार र विस्तार गर्न आवश्यक रहेको बताएका छन्। “अबको दिनमा अस्पतालले दिनुपर्ने सेवामा विस्तार गर्दै सुधार्नुपर्ने ठाउँ कहाँ छन्, जनगुनासोलाई सम्बोधन गर्ने काममा ध्यान आवश्यक छ।” उनले भने। अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताए।
अहिले सो अस्पतालको आकस्मिक सेवा कक्षमा औसतमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ। आकस्मिक सेवा कक्षमा अहिले छ वटा मात्रै शय्या रहेको कारण सरकारको नियमअनुसार त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै अहिले प्राप्त सामग्रीले ठूलो राहत मिल्ने कार्यकारी निर्देशक थापाले बताए। रोटरी क्लबले विभिन्न १७ प्रकारका सामग्रीका साथै विभिन्न प्रकारका अन्य साग्रीसहित करिब रु ४५ लाख बराबरको सहयोग गरेको छ।