इन्जीनियरहरुलाई कटाक्ष गरेको भन्दै राप्रपा निकट विद्यार्थी सङ्गठनद्वारा धरानका मेयरको राजीनामा माग

धरान - राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो।

केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए। सोही विषयलाई लिएर राप्रवि सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन्। ‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसा प्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणी प्रति राप्रवि सङ्गठन घोर भर्त्सना र विरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवालको राजनैतिक आगमनसँगै नयाँ दिल्लीले पाएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको राप्रवि सङ्गठनको ठहर छ।

‘यस्तो गैरजिम्मेवार नेतृत्व धरानले पाइरहँदा धरानको विकास भविष्य अन्धकारमा पुग्न लागेको कुरा सहजै स्विकार्न सकिन्छ। आफू केही गर्न नसक्ने र अरूको कामलाई विरोध गर्ने, धरानको विकासमा अघि बढ्न भ्याइनभ्याइ हुनु पर्ने बेलामा सानो सोच राखेर भ्रष्टाचारी नेताहरूको शैलीलाई पछ्याउँदै हिँड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनुभएको कुरा प्रस्ट्याउँछ,’ विज्ञप्तिमा भनिएको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×