काठमाडौं- सत्तारूढ प्रमुख घटक नेकपा एमालेकी सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन्।
सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराइन्।
उनले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरिन्।
सांसद भट्टराईले भनिन्, ‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्याैं तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ। नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ। पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको संख्या २५ लाख २२ हजार पुग्ने तथा जिडिपिमा नौ प्रतिशतभन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ। पर्यटन विकासको खाकासमेत तय गरेको छ। तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौं। हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ।’
सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास गर्न विशेष जोड दिनुपर्ने पनि बताइन्।