काठमाडौँ - युवा खेलाडी पेड्रीले सुरुमै गरेको गोलमा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ। जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ।
१९ वर्षे पेड्रीले १७ औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। पाब्लो गाभीले गरेको क्रस सेल्टा भिगोका रक्षकले क्लियर गर्न खोजेका थिए। तर, राम्रोसँग क्लियर नहुँदा पेड्रीको खुट्टामा पुग्यो। जसलाई उनले कुनै गल्ति नगरी पोष्टको दिशा दिएका थिए। जारी सिजन बार्सिलोनाबाट पेड्रीको यो दोस्रो गोल हो।
जितसँगै बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ। जुन साविक विजेता रियाल मड्रिडसँग बराबरी हो। तर, गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको छ। बार्सिलोना र रियाले ८ खेलमा समान ७ खेल जितेका छन् भने १ खेल बराबरी खेलेका छन्।
जारी सिजन जभीको टिम बार्सिलोनाले २० गोल गरेको छ भने १ गोलमात्र खाएको छ। रियालले १२ गोल गरेको छ भने ७ गोल खाएको छ।