काठमाडौँ - भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस र प्रभु टेक्नोलोजीबाट सञ्चालित भुक्तानी प्रणाली प्रभुपेबीच सहकार्य भएको छ।
यस सहकार्यसँगै प्रभुपे अब फोनपे नेटवर्कमा आबद्ध भएको छ। प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्।कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले पहिलेदेखि नै अन्तरआवद्धताका लागि जोड दिँदै आएको बताए। ‘पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तरआढताका लागि निर्देशन गरिरहेको छ। हामी सबै कम्पनीको लडाई नगद कारोबारसँग हो,’ उनले भने, ‘प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ।’
त्यस्तै, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए। डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अघि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्।
प्रभु समुहअन्तर्गत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडि बढाइरहेको छ। हाल यस कम्पनीका ७ लाख भन्दा धेरै ग्राहकहरू छन्। प्रभुपेमार्फत मोबाइल र टिभी रिचार्ज, हवाई टिकट, मुभी टिकटलगायतका सेवाका साथै थुप्रै सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ।