काठमाडौँ - ‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन्।
पुरस्कारको राशि जनही रु एक लाख रहेको छ। प्रतिष्ठानले यहाँ आज पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार–२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार–२०७५’ डा रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ संस्कृति विज्ञ भरतराज पौडेललाई प्रदान गरेको हो।
त्यसैगरी ‘खड्कबहादुर प्रतिभा पुरस्कार–२०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार–२०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही रु १० हजार छ । सोही अवसरमा पूर्वप्रम चन्दले मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक सङ्कट बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । साहित्यलाई जीवित राख्नका लागि आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने उनको भनाइ छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्य तथा विभिन्न क्षेत्रमा व्यक्तिलाई सम्मान गरेर नेपाली साहित्यको क्षेत्रमा उत्प्रेरणा जगाउने काम गरेको बताए। पूर्वमन्त्री बाँस्कोटाले नेपाली साहित्यलाई जीवन्त राख्ने गरी सरकारले शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक (यात्रा संस्मरण) सार्वजनिक गरिएको थियो।