१. खसिरहेको केही जस्तै
कहिल्यै फुल्न नपाएको फूल
कहिल्यै उड्न नपाएको पंक्षी
कसैले त देख्यो होला मानिसभित्र !
खसिरहेको सूर्यको किरण
अल्झियो~पर्खिरहेको शीतको छातीमा
कतै त पोखियो होला उज्यालोको गीत !
नदी जस्तो बिश्वास बोकेर
शासकले लुकाएको इतिहास जस्तो अनुहार लिएर
त्यसपछि नै त हिँड्यो होला यात्राले !
अन्तिम नहुने यो अन्तिम यात्रा
सधैँ सधैँ खसिरहने त्यो गीतको उज्यालो
उदास उदास ती शोषित कामना
खसिरहेको गीत: कतै/कुनै धरतीमा
हिँडिरहेको यात्रा: कतै/कुनै अनुहारमा
उदास लय: कतै/कुनै जीवनमा
अनिश्चित हुनेछौँ खसिरहँदा...
खसिरहेको केही जस्तै
हुनेछ-पर्खिरहेको केही पनि !
र उभिनेछ-यात्रा
फैलिनेछ-उज्यालो धून !
अनिश्चित हुनेछौँ खसिरहँदा
तर
समय भन्दा अग्रिम आउनेछ-अर्को समय !
२. नदी
तिमी सङ्गसङ्गै रहेर...
म रूखहरू उभिएँ / म बिजहरू उम्रिएँ
म फूलहरू फुलेँ / म बतासहरू फैलिएँ
बगेको छु म
र
बाँचेका छौ तिमी।
थोपा भएर तिमीसम्म
रहेको तिम्रो प्रत्येक थोपा अस्तित्व मै हुँ !
लहर भएर तिमीसम्म
बगिरहेको तिम्रो अविछिन्न प्रवाह मै हुँ !
नदी भएर तिमीसम्म
बाँचिरहेको जीवनको पहिलो प्यास
हिँडिरहेको सभ्यताको एकएक पदचाप
हुँ एकमात्र साक्षी
धरतीमा पहिलो पटक गाइएको गीतको
लेखिएको प्रथम प्याराग्राफको !
तिमी सङ्गसङ्गै रहेर...
चुच्चो चोपलेर चिरबिराइरहेका चरा भएँ
'सेता जिराफ'को अन्तिम सास अंकित शालिग्राम भएँ
तिमी सङ्गसङ्गै रहेर
बगेँ / जमेँ / पग्लिएँ
तिमी सङ्गसङ्गै रहेर
दुबो भएँ / स्मृति भएँ / स्मारक भएँ
तिमी सङ्गसङ्गै रहेर...
यी जल्दै गरेका नदी / यी फैलिदै गएका बगर
यो तातिदै गएको धरती / ती डुब्दै गएका माल्दिभ्स
तिमीद्वारा लेखिएको सब्से उदास कथा भएँ...
हाम्रो प्रेम-कथामा
यति बीभत्स ट्राजेडी लेख्ने तिमी नै हैनौ?
कवि मनोज विश्वकर्मा