इटालीका पूर्व प्रधानमन्त्रीको इच्छापत्र, ३३ बर्सिया प्रेमिकालाई दिए १० करोड युरो

रोम - इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले आफ्नी ३३ बर्सिया प्रेमिका मार्टा फासिनाका लागि १० करोड युरो छाडेको सार्वजनिक भएको छ। उनको गत महिना निधन भएको थियो।

फोर्जा इटालियाका डेपुटी फासिना र बर्लुस्कोनीबीचको सम्बन्ध मार्च २०२० मा सुरु भएको थियो। बर्लुस्कोनीले फासिनासँग कानुनी रूपमा विवाह गरेका थिएनन् तर बर्लुस्कोनीले मृत्यु हुनुअघि फासिनालाई आफ्नी 'पत्नी' भनी उल्लेख गरेका थिए।

३३ बर्सिया फासिना सन् २०१८ को आमनिर्वाचनदेखि इटालीको संसद्को तल्लो सदनका सदस्य हुन्। उनी फोर्जा इटालियाकी सदस्य हुन्, जुन पार्टी बर्लुस्कोनीले १९९४ मा पहिलो पटक राजनीतिमा प्रवेश गर्दा स्थापना गरेका थिए।

तीन पटक इटालीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब युरोभन्दा बढी रहेको अनुमान गरिएको छ। बर्लुस्कोनीको व्यापार साम्राज्य उनका दुई जेठा छोरा, मरीना र पियर सिल्भियोले नियन्त्रण गर्ने भएका छन्। उनीहरू दुवैले पहिले नै व्यवसायमा कार्यकारी भूमिका सम्हाल्दै आएका छन्। अब उनको फिनभेस्ट परिवारको सम्पत्तिमा ५३ प्रतिशत सेयर हुनेछ।

पूर्व प्रधानमन्त्रीले आफ्नो भाइ पाओलोको लागि एक सय मिलियन युरो दिएका छन् भने माफियासँग सम्बन्धको लागि जेल सजाय भोगेका फोर्जा इटालिया पार्टीका पूर्व सिनेटर मार्सेलो डेलउट्रीको लागि ३० मिलियन युरो छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

अरबपति मिडिया व्यापारी र प्रधानमन्त्रीको रूपमा दशकौँसम्म इटालियन सार्वजनिक जीवनमा प्रभुत्व जमाउने बर्लुस्कोनीको ८६ वर्षको उमेरमा गत जुन १२ मा निधन भएको थियो। उनलाई मिलानको एक अस्पतालमा भर्ना गरिएको थियो। 

मंगलबार उनका सन्तान र अन्य साक्षीको उपस्थितिमा उनको इच्छापत्र पढेर सुनाइएको थियो। 'म उपलब्ध स्टक मेरा छोराछोरी मारिना र पियर सिल्भियोलाई बराबर भागमा छोड्छु। म मेरा पाँच छोराछोरी मरीना, पियर सिल्भियो, बारबरा, एलियोनोरा र लुइगीलाई बराबर भागमा सबै कुरा छोडेको छु, धन्यवाद, तपाईंहरू सबैलाई धेरै माया, तपाईंको बुबा शब्दहरूसहित आफ्नो इच्छापत्रमा हस्ताक्षर गर्दै लेखेको पत्र पढेर सुनाइएको हो।'

बर्लुस्कोनीले कर छलीको आरोपमा दोषी ठहरिएपछि ६ वर्षको लागि राजनीतिबाट प्रतिबन्धित हुनुअघि इटालीको प्रधानमन्त्रीको रूपमा तीन कार्यकाल सेवा गरेका थिए। उनी इटालीको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्रीको रूपमा चिनिन्छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×