बुटवल - नेपाल सांस्कृतिक महासङ्घको लुम्बिनी प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ।
भेलामा सहभागी लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरूको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रूपमा रहेको नेपाली काँग्रेस गम्भीर नभएको गुनासो राखेका थिए। कार्यक्रममा सांस्कृतिक महासङ्घका केन्द्रीय सभापति तीर्थ बहादुर थापाले सांस्कृतिकर्मीहरुको सम्मानका लागि महासङ्घको स्थापना गरिएको बताए।
सांस्कृतिक कर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन् भन्ने भावना नेपाली कांग्रेसले बुझ्न जरुरी रहेको उनको भनाइ थियो।
सोही अवसरमा नेपाल सांस्कृतिक महासङ्घका महामन्त्री शिवशङ्कर रिजाल (जोगिन्दर) ले नेपाली कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासङ्घ लागि परेको बताउँदै पार्टीलाई सबल र सक्षम बनाउनका लागि सम समयमा कार्यक्रम समेत गर्ने गरेको बताए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभापति डिल्लीनारायण पाण्डेले नेपाली कांग्रेस भित्र देखिएको गुटउपगुट सांस्कृतिक सङ्घमा नदेखिएको बताए।
सांस्कृतिक सङ्घलाई नेपाली कांग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको बताए। नेपाल सांस्कृतिक महासङ्घलाई स्थानीय तहसम्म पुराउन र हरेक स्थानीय तहमा समिति गठन गरी जिल्ला र प्रदेश समिति चयन गरी आगामी मङ्सिर सम्ममा केन्द्रीय समितिको अधिवेशन गर्ने गरी महासङ्घले अभियान सुरु गरिएको छ। सोही अभियान अन्तर्गत लुम्बिनी प्रदेशको भेला भएको हो। भेलामा खिमानन्द भटृराई, प्रचण्ड जिसी , बाबुराम घिमिरे लगायतले महासङ्घलाई सशक्त बनाउने गरी कार्यक्रम ल्याउन जरुरी रहेको बताएका थिए।