काठमाडौँ - इङ्ल्यान्डसँगको दोस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ। कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला १/१ को बराबरी भएको छ।
दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो। इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए। कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडेका थिए। दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३/३ विकेट लिएका थिए।
लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। उसका लागि राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय पारी खेलेका थिए।
रुसोले अविजित ९६ रन तथा हेन्ड्रिक्सले ५३ रन बनाएका थिए। इङ्ल्यान्डका रिचार्ड ग्लिसन, मोइन अलि र क्रिस जोर्डनले समान १/१ विकेट लिएका थिए। पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो।
२ देशबीचको तेस्रो तथा निर्णायक टी-२० खेल आइतवार हुनेछ।