पेरिसमा आजबाट विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ सुरु हुँदै

काठमाडौं । विश्व खेलकुद प्रेमीहरुको नजर आजबाट पेरिसमा जादैछ । आज(शुक्रबार)बाट विश्व खेलकुदको महाकुम्भ ‘३३औँ ग्रीष्मकालीन ओलम्पिक’ फ्रान्सको पेरिसमा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता रहेको छ, जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने निश्चित भएको छ । प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको हो । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी भएका हुन्।

ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान रहेका छन् ।

सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ । यस ओलम्पिकमा चार नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ  । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।

यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रनेछन्  । यस खेलमा ३० हजार स्वयंसेवक परिचालन गरिएको छ  । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुनेछन्  । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ  । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ  । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने जनाइएको छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुनेछन्  ।

पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ  । टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ  । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ  ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×