कैलालीसहित ३ जिल्लामा टुङ्ग्यायो नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार

धनगढी- दर्ता भएको छोटो समयमै आफ्नो पहिचान बनाउन सफल नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको छ। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ।

पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लागेको बताए। उनका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित भएको जानकारी दिए।

त्यस्तै, क्षेत्र नं. २ बाट अरुण चौधरी, क्षेत्र नं. ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए। क्षेत्र नं. ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने उनले जनाए। सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं. ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको उनले जनाए।

३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ। क्षेत्र नं. १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं. २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिए।

त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा ३ जनाको नाम अगाडि सारिएको छ। सो क्षेत्रबाट डा. प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ। क्षेत्र नं. २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ।

स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी सो पार्टीले कैलालीको ४ स्थानीय तहमा प्रमुख जितेर आफूलाई स्थापित गरिसकेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि सो दलले कसैसँग गठबन्धन नगर्ने रणनीति बनाएको जनाइएको छ।

एकल रुपमा चुनाव लड्ने बताउँदै संगठन प्रमुख चौधरीले भने, ‘हामी हाम्रो पार्टीको जन्म नै राजनीतिक उत्पीडन, अन्याय र विभेदबाट भएको हो। अहिलेसम्म ठूला दल भन्नेहरुले हामीलाई स्वीकार गर्नै सकेका छैनन्।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×