आन्तरिक पर्यटकले कुश्माबजार भरिभराउ

काठमाडौँ - साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ।

पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ। कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो। दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन्। पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन्। एक साताअघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरूको भनाइ छ।

पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन्। चैतेदसैँमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने भक्तजनका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो। मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकहरुले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ जानकारी दिन्छन्। उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घसंस्थाबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्र आउने क्रम बढ्दो रहेको छ।

कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङबाट म्याग्दीतर्फ जाने गरेको होटल व्यवसायी बताउँछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×