काठमाडौँ - कियरा आडवाणी भारतीय चलचित्र उद्योग बलिउडकी पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन्। उनले सन् २०१४ मा ‘फग्ली’बाट रंगीन पर्दामा पाइला राखेकी हुन्।
त्यसपछि चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको बायोपिक ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’मा काम गरेकी उनलाई चर्चामा ल्याउने काम यही चलचित्रले गरेको हो। कियराले त्यसपछि ‘कविर सिंह’ फिल्मबाट पनि राम्रै चर्चा बटुल्न सफल भइन्।
चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व उनी स्कुलमा काम गर्थिन्। आफ्नी आमा पनि शिक्षिका भएका कारण आमाकै स्कुलमा उनले काम गरेकी थिइन्। उनको असली नाम आलिया आडवाणी थियो। कियराका बुवा व्यापारी थिए भने आमा शिक्षिका थिइन्।
कियराले बलिउड सुपर स्टार सलमान खानको सल्लाहमा आफ्नो नाम परिवर्तन गरेकी हुन्। बलिउडमा आलिया भट्ट पहिलेदेखि नै रहेकाले एउटै नामका धेरै कलाकार फिल्म उद्योगमा हुनु राम्रो नहुने भन्दै सलमानले नाम परिवर्तन गर्न सुझाव दिएका थिए। सलमानको सुझावलाई आत्मसाथ गर्दै आलिया आडवाणीले आफ्नो नाम ‘कियरा’ राखेकी हुन्।
पछिल्लो समय कियरा थुप्रै चलचित्रको काममा व्यस्त छिन्। उनी ‘भूल भुलैया–२’, ‘जुग जुग जियो’ र ‘गोविन्दा मेरा नाम’ चलचित्रमा देखिँदै छिन्।