बुधबारदेखि पोखरामा प्रदेशस्तरीय भलिबल, विजेतालाई २ लाख

पोखरा - तत्कालीन पश्चिमाञ्चल क्षेत्र भलिबल खेलका लागि उर्बर मानिन्थ्यो। यहाँ हुने भलिबल खेलका प्रतियोगिताले एकसे एक खेलाडी उत्पादन हुन्थे। देशैभर हुने सानाठूला प्रतियोगितामा सबैको आँखा पश्चिमाञ्चलतिरै सोझिन्थ्यो। त्यो क्रम अहिले पनि टुटेको छैन, राष्ट्रियअन्तर्राष्ट्रिय टोली नै सम्हाल्ने नेतृत्वको मौका गण्डकीको काँधमा छ। यसैको उदाहरणमध्येकी हुन्, नेपाली राष्ट्रिय भलिबल टोली कप्तान अरुणा शाही।

शाही मात्र होइन, पुरुष टोलीकै कप्तान मानबहादुर श्रेष्ठ पनि गण्डकीकै हुन्। त्यसबाहेक खेल कौशलबाटै आफ्नो छुट्टै पहिचान बनाएका मञ्जु गुरुङ, सिपोरा गुरुङ पनि गण्डकी प्रदेशकै उत्पादन हुन्।

३० को दशकपछि भलिबल खेलमा बढेको आकर्षणको ग्राफ गण्डकीमा अझै पनि घटेको छैन। पुरुष भलिबलमा गण्डकीले विभागीय टिमलाई नै चुनौती दिन्छ। खेलाडीको मात्रै आकर्षण नभएर भलिबल खेल हेर्न हुरुक्कै हुने दर्शकको संख्या पनि उस्तै छ।

हरेकजसो पर्वको अवसर गण्डकी प्रदेशका गाउँ गाउँमा भलिबल प्रतियोगिता आयोजना हुन्छ। मेला महोत्सवले पनि भलिबललाई प्राथमिकता दिएकै छन्। स्थानीय तहले पनि नियमित रुपमा मेयर कप र अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। गण्डकी प्रदेश भलिबल संघले समेत प्रदेशस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका भलिबल प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको दाबी छ। आयोजकका अनुसार पुस २४ देखि सञ्चालन हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ गतेदेखि पोखरामै हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रण भलिबल प्रतियोगिताका लागि पनि यसै प्रतियोगितामार्फत खेलाडी छनोट गरिनेछ।

गण्डकीका ११ जिल्लाका टिमले सहभागिता जनाउने संघका महासचिव टहलसिंह थापाले बताएका छन्। प्रतियोगिताले खेलप्रति लगाव बढाउने उनको दाबी छ। ‘नयाँ प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटन गरेर ऊर्जा थप्नेछ’, उनले भने।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने थापाले जानकारी दिएका छन्। सान्त्वनाले २५ हजार रुपैयाँ पाउनेछन्।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र कोचले पनि जनही १० हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हरेक जिल्लालाई आतेजाते खर्चवापत ५० हजार रुपैयाँका दरले प्रदान गर्ने महासचिव थापाले बताएका छन्। प्रतियोगितामा सहभागिता जनाउनलाई केही जिल्लाले प्रतियोगिताको लागि टिम छनोट गरिसकेको छ।

प्रतियोगिता गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान छ। सुरुवाती चरणका खेल हेर्र्न दर्शकले सय रुपैयाँको टिकट काट्नुपर्नेछ। सेमिफाइन र फाइनल खेल हेर्न भने २ सय रुपैयाँको टिकट लाग्ने गण्डकी भलिबल संघका अध्यक्ष नवीनकुमार गुरुङले जानकारी दिएका छन्। बचत भएको रकमले महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गरिने उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×