ब्लड मनी नतिरी भागेका कमल ५८९ दिनदेखि कतारमा नरहेको दुतावासको जानकारी

काठमाडौँ - आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगेर ब्लड मनी नतिरेको सिन्धुलीका कलम थिङ ५८९ दिनदेखि कतारमा नरहेको दूतावासले जनाएको छ। धनुषाका शिवरतन राउतको हत्या अभियोगमा ६ महिना जेल सजाय भोगेका उनलाई २ लाख कतारी रियाल (झण्डै ७० लाख नेपाली रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने थियो। तर, उनी ब्लड मनी नतिरी नेपाल फर्किएको पाइएको हो। 

यो विषयमा खबरहरु आउन थालेपछि कन्सुलर सेवा विभागले कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेको थियो। विभागले पठाएको पत्रको जवाफ दूतावासले प्रतिउत्तर लेख्दै कमल ५८९ दिनदेखि कतारमा नरहेको बताएको हो। 

मृतक शिवरतनको हत्या आरोपमा थुनामा रहेका एवम् ब्लड मनी तिर्नुपर्ने फैसला गरेका सिन्धुली कपिलाकोटका कमल ब्लड मनी नतिरी नेपाल फर्किएका हुन्। यो विषयमा सरकारी अधिकारीहरूले भने अनभिज्ञता प्रकट गरेका थिए। 

उनी ब्लड मनी भुक्तान नहुँदै नेपाल पुगेको विषयमा कतारको कुनै निकायबाट जानकारी प्राप्त नभएको दूतावासले जनाएको छ। सामान्यतया कतारमा कुनै अभियोगमा अदालतबाट निर्णय भई कसुरदार ठहरिएका विदेशी नागरिकको हकमा तोकिएको सजाय भुक्तान नहुँदासम्म तथा ब्लड मनी तिर्नुपर्ने भनी तोकिएका व्यक्तिलाई कतार छोड्न नमिल्ने गरी कतार सरकारले ‘एक्जिट परमिट’ नदिने व्यवस्था रहेको छ। 

तथापि यदाकदा केही व्यक्ति ब्लड मनी नतिरेकै अवस्थामा समेत कतारबाट आफ्नो मुलुक फर्किने गरेको पाइएको दूतावासले लेखेको पत्रमा उल्लेख छ। 

कमलको कतार आईडी समेत रद्द भइसकेको र ५८९ दिनदेखि कतारमा नरहेको पाइएको दूतावासले जनाएको छ। 

गत वर्ष कोरोना महामारीको समयमा सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्धार गरेको थियो। त्यो बेला विशेष गरी विदेशमा अवैधानिक रूपमा बसेका थुप्रै नेपाली घर फर्किएका थिए। सोही उद्धार फ्लाईटमार्फत् कमल पनि नेपाल फर्किन सफल भएका हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×