सकियो कलङ्क हटाउने चौरचन पर्व

मोरङ - वर्षभरिको सङ्कटबाट बचाउने र कलङ्क हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार  साँझ घर–घरमा मनाउँदै सम्पन भएको छ।

भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अधाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन भएको हो। चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कलङ्क पनि हटाउने जनविश्वास रहिआएको छ। दिनभरि व्रत लिई साँझपख आँगनमा पिठार (चामलको पीठो)ले अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राखी त्यसमा पकवान, मिठाइलगायत प्रसाद राखेर चन्द्रमाको पूजा गर्ने चलन छ। मुकुटसहित चन्द्रमाको दिशामा बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने गरिन्छ। 

परिवारको सदस्य सङ्ख्या जति छ, त्यति नै पकवानयुक्त डाली र  दहीको छाँछी अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राखिन्छ। एक–एक डाली, दही, केराको घरी उठाएर  मन्त्रले प्रत्येक व्यक्तिले हातमा फल लिएर चन्द्रमाको दर्शन गरी आशीर्वाद लिने पण्डित महेन्द्रनारायण ठाकुर बताउँछन्।  दही र फलफूल लिएर चन्द्रमाको दर्शन गरे पापबाट मुक्ति पाइने विश्वास छ। 

चन्द्रमाको दर्शन गरी चन्द्रमण्डलमा  राखिएको प्रसादलाई उपस्थित पुरुषले चार भाग गरी पातमा भोजन गरेपश्चात बाँकी रहेको भाग त्यही नै खाल्डो खनी गाड्ने चलन छ। चौरचनको दिनभरि नै मिथिलाका महिला पकवान पुरी, ठकुवा पुड्किया, मालपुवा आदि सामग्री बनाउन व्यस्त रहन्छन्। कुशेआँैशीदेखि नै दही, डाली–छाँछीको व्यवस्था गर्ने तयारीमा मिथिलावासी जुट्ने गर्दछन्। मिथिलामा भदौको शुक्लपक्षको चौथीमा मिथ्या कलङ्कबाट बच्न रोहिणीसहित चतुर्थी चन्द्रको पूजा हुने गर्दछ। चन्द्रमाको आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने विश्वासले मिथिलामा यस पर्वलाई विषेश रूपमा मनाउने चलन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×