कतार विश्वकप मेरो अन्तिम प्रतियोगिता हुनेछैनः रोनाल्डो

काठमाडौँ - यो सिजन स्वाभाविक लयमा नरहेका क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन्।

विश्वकपपछि पनि आफू पोर्चुगलबाट खेलिरहने उनको भनाइ छ। रोनाल्डोले सन् २०२४ को युरो कप पनि खेल्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। ‘लामो यात्रा पार भइसकेको छ। तर, यात्रा अझै पूरा भएको छैन। म अहिले धेरै युवा खेलाडीसहित राष्ट्रिय टोलीका लागि छनोटमा रहेको छु। म आगामी विश्वकप र युरोकप २०२४ खेल्न चाहन्छु’, पोर्चुगिज राष्ट्रिय फुटबल संघले दिएको अवार्ड थाप्दै रोनाल्डोले भने।

३७ वर्षीय रोनाल्डो सन् २००३ देखि सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। रोनाल्डोले १८९ खेलमा ११७ गोल गरेका छन्। सन् २०१६ मा युरोकप जितेका रोनाल्डोले विश्वकपमा भने फाइनलको यात्रा तय गर्न सकेका छैनन्।

रोनाल्डोले यो सिजन क्लबका लागि ८ खेलमा केवल १ गोलमात्र गरेका छन्। घरेलु लिगमा ६ खेल खेल्दा १ गोल पनि गर्न सकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×