काठमाडौँ -साविक विजेता एसी मिलान इटालियन सिरी ‘ए’ को नयाँ सिजनको दोस्रो खेलमै हारबाट जोगिएको छ। मिलानले घरेलु टोली एटलान्टासँग १-१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलको २९औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लिएको थियो. तर, एटलान्टाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन। ६८औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई हारबाट जोगाएका थिए।
यो बराबरीसँगै अपराजित रहेको मिलान २ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा तथा समान ४ अंक नै रहेपनि एटलान्टा गोल अन्तरमा पछि पर्दै चौथो स्थानमा रहेको छ।