आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सुरु

काठमाडौँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ। 

सबै वडामा प्रसूति केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्यसहित वडा नं १ को आधारभूत स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन सुरु गरिएको छ। स्थानीय महिलालाई वडास्तरमै प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। “यस क्षेत्रका महिलालाई सुरक्षितरुपमा आफ्नै ठाउँमा प्रसूति सेवा दिनका लागि प्रसूति केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उनले भन, “येसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने प्रचलन पनि हट्ने विश्वास लिएका छौँ।”

घरमा सुत्केरी हुँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले प्रसूति केन्द्रमा नै आएर प्रसूति गराउन सचेतना जगाइने उनले बताए। स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनका लागि सबै उपकरण व्यवस्थापन गरिसकिएको छ। केन्द्रबाट गर्भवती जाँच, तालिम प्राप्त नर्सबाट सुत्केरी सेवा प्रदान गरिनेछ। सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ। केन्द्रमा एक जना नर्स पहिल्यै रहे पनि प्रसूति केन्द्रका लागि छुट्टै नर्सको व्यवस्था गरिएको छ।

प्रसूति केन्द्रबाट आँबुखैरेनी गाउँपालिका– १ र २ का अलवा गोरखाको पालुङटार र तनहुँकै बन्दीपुर गाउँपालिका महिला लाभान्वित हुनेछन्। प्रसूति केन्द्रमा सुत्केरी गराउँदा गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसमेत प्रदान गर्ने गरेको छ। सरकारी स्वास्थ्य संस्थाबाट सुत्केरी गराउँदा  सरकारबाट रु. दुई हजार ८०० गाउँपालिकाबाट रु. एक हजार गरी रु तीन हजार ८०० प्रोत्साहन रकम दिने गरिएको छ।

यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत एक क्रेट अण्डा र एउटा कुखुराको भाले दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×